काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन व्यवस्थापनका लागि ४ करोड रुपैयाँ जति खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
उनका अनुसार महाधिवेशनका प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क तथा पार्टी सदस्य र शुभेच्छुकहरूबाट प्राप्त सहयोग रकममार्फत खर्च व्यवस्थापन गरिनेछ।
महामन्त्री बुर्लाकोटीले महाधिवेशनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने विभिन्न प्रदायक संस्थासँग सहुलियतका विषयमा छलफल भइरहेको बताए। विशेषगरी क्याटरिङजस्ता बढी खर्च हुने क्षेत्रमा व्यवसायीहरूले नाफा नलिई लागत मूल्यमा मात्रै सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको भनाइ छ।
‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड रुपैयाँ हुने अनुमान छ। त्यसमा प्रतिनिधिहरूले तिर्ने दर्ता शुल्क र बाँकी रकम पार्टीका सदस्य तथा शुभचिन्तकहरूको सहयोगबाट जुटाइन्छ,’ बुर्लाकोटीले भने, ‘क्याटरिङलगायतका सेवा प्रदायकहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेका छन्।’
रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुँदैछ।






प्रतिक्रिया