रूपन्देही-नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापाले व्यक्तिकेन्द्रीत पुनःगठन अभियानले पार्टीलाई सही दिशामा लैजान नसक्ने बताएका छन्।
पार्टीले कपिलवस्तुमा आयोजना गरेको पुनःगठन तथा निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै नेता थापाले नेतृत्व पुनःगठनलाई समाधानका रूपमा प्रस्तुत गर्नु उचित नहुने धारणा राखे। नेता थापाले पुनःगठनमा जाने हो भने अध्यक्ष मात्र होइन, सबै पदाधिकारीहरू केन्द्रीय सदस्यको हैसियतमा बसेर नयाँ संरचना निर्माणका लागि तयार हुनुपर्ने बताए।
‘अहिले नेतृत्व पुनःगठन गरेर निकास निस्कँदैन। कुनै व्यक्ति केन्द्रित पुनःगठनले कुनै अर्थ राख्दैन। पुनःगठनमा जाने भए अध्यक्ष मात्र होइन, सबै पदाधिकारी केन्द्रीय सदस्यमा बसेर जान तयार हुनुपर्छ,’ नेता थापाले भने।
उनले पार्टी विभिन्न कोणबाट घेराबन्दीमा परेको अवस्थामा आन्तरिक किचलो र विवादलाई प्राथमिकता दिन नहुने उल्लेख गरे। पार्टीलाई एकताबद्ध बनाएर संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
नेता थापाले विश्वका धेरै राजनीतिक दल तथा देशहरूमा समेत नेतृत्व पुनःगठनको विषय उठे पनि त्यसले अपेक्षित समाधान दिन नसकेको उदाहरण प्रस्तुत गर्दै एमालेभित्र पनि समस्या समाधानका लागि सामूहिक सोच र संगठनात्मक एकता आवश्यक रहेको बताए।






प्रतिक्रिया