काठमाडौं-नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ, नेपालको पाँचौं पूर्ण बैठक विभिन्न संगठनात्मक तथा नीतिगत प्रस्तावमाथि छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरी सम्पन्न भएको छ।
असार ५ गते काठमाडौंको कलंकीस्थित होटल पालाजोमा सम्पन्न बैठक संघका अध्यक्ष दिलबहादुर थापा मगरको अध्यक्षता तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बैठकले संगठनको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय महाधिवेशनको तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको अध्यक्ष थापा मगरले जानकारी दिए। उनका अनुसार लोकतान्त्रिक मगर संघ, नेपालको राष्ट्रिय महाधिवेशन २०८३ साल असोज ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ।
महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अगाडि बढाउने तथा त्यसका लागि विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको अध्यक्ष थापा मगरले बताए। अध्यक्ष थापा मगरका अनुसार गठन गरिएका उपसमितिहरूले व्यवस्थापन, प्रचार–प्रसार, आवास तथा स्वयंसेवक परिचालनलगायतका कार्यको जिम्मेवारी सम्हाल्नेछन्।
त्यसैगरी, महाधिवेशनमा प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने निर्णय पनि गरिएको अध्यक्ष थापा मगरले जानकारी दिए। पार्टी नेतृत्वको उपस्थितिले महाधिवेशनलाई थप प्रभावकारी र महत्वपूर्ण बनाउने विश्वास संघले व्यक्त गरेको छ।
बैठकले मगर समुदायको हक–हित, पहिचान, अधिकार र राजनीतिक सशक्तीकरणका लागि संगठनलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।
बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष ज्ञानेन्द्र पुन मगर, महासचिव देवराज राईलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।







प्रतिक्रिया