चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्।
महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। पार्टी स्थापना भएको चार वर्ष नपुग्दै पहिलो पटक सुरु भएको राष्ट्रिय स्तरको महाधिवेशन असार ७, ८ र ९ गतेसम्म सञ्चालन हुनेछ। रास्वपाले देशभर वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय महाधिवेशनको आयोजना गरेको हो। यस अधिवेशनले आगामी कार्यकालका लागि केन्द्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको वैचारिक, संगठनात्मक तथा राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन्।






प्रतिक्रिया