चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपा केवल दलको महाधिवेशनमा नभई नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको पार्टी भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले निराशा चिर्ने, आशा जगाउने र राजनीतिक संस्कार परिवर्तन गर्ने लक्ष्यसहित पार्टी अघि बढिरहेको स्पष्ट पारे।
उनका अनुसार रास्वपा “सत्ताको लालचबाट माथि उठ्ने” र “कसैलाई हराउने होइन, देशलाई जिताउने” उद्देश्यसहित अघि बढिरहेको पार्टी हो।
‘हामी दलको महाधिवेशनमा मात्रै आएका छैनौँ, नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएका छौँ,’ वाग्लेले भने, “निराशाविरुद्ध सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्न आएका हौँ।’
उनले रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै अब आलोचनामात्र होइन, विकल्प र परिणाम दिन सक्ने राजनीतिक शक्ति बन्ने दाबी गरे।
वाग्लेले नेपालमा लामो समयदेखि राजनीतिक निराशा, असन्तुष्टि र कमजोर संस्थागत विकासले समस्या सिर्जना गरेको बताउँदै “गलत प्रोत्साहन संरचना” नै मुल समस्या भएको टिप्पणी गरे।
उनका अनुसार राजनीतिमा इमानदार व्यक्तिलाई प्रवेश कठिन हुने र पहुँचवालालाई सहज हुने प्रणालीले राज्य कमजोर बनाएको छ।
सम्बोधनमा उनले लोकतन्त्रको उपलब्धिलाई सम्मान गर्दै पनि संस्थागत गुणस्तर अपेक्षित रूपमा विकास हुन नसकेको बताए। उनले सेवा प्रवाह कमजोर हुनु, अवसरको असमानता बढ्नु र राज्यको क्षमता अपेक्षाअनुसार नबढ्नु जस्ता समस्या औँल्याए।
वाग्लेले रास्वपाको दृष्टिकोण स्पष्ट गर्दै “उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य” निर्माण गर्ने लक्ष्य लिएको बताए।
उनले युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै नेपालमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
‘हामी यस्तो नेपाल चाहन्छौँ जहाँ प्रतिभा, क्षमता र परिश्रमले सफलता निर्धारण गरोस्,’ उनले भने।
सम्बोधनको अन्त्यमा उनले रास्वपाको महाधिवेशनलाई राजनीतिक पुनर्जागरणको सुरुआतका रूपमा व्याख्या गर्दै निराशालाई आशामा बदल्ने र विद्रोहलाई निर्माणमा रूपान्तरण गर्ने आह्वान गरे।






प्रतिक्रिया