चितवन-नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक र राजनीतिक अवस्थाबारे व्यापक चासो रहेको बताएका छन्।
चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन लाई सम्बोधन गर्दै नेता ज्ञवालीले रास्वपा केन्द्र, दक्षिणपन्थ वा वामपन्थमध्ये जहाँ उभिए पनि जनताका पक्षमा काम गर्ने राजनीतिक शक्ति बन्नुपर्नेमा जोड दिए।
‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ। तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठूलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस्,’ उनले भने।
नेता ज्ञवालीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह लाई बधाई दिँदै महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको स्पष्ट नीति, विचार र कार्यदिशा तय गर्नुपर्ने बताए।
उनले रास्वपाले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न सफल भएको उल्लेख गर्दै यसबाट परम्परागत राजनीतिक दलहरूले पनि सिक्नुपर्ने धारणा राखे। जनमत प्राप्त गर्नु मात्रै पर्याप्त नभई त्यसलाई राष्ट्र निर्माणको दिशामा परिचालन गर्नु अझ ठूलो चुनौती रहेको उनको भनाइ थियो।
ज्ञवालीले हालै रास्वपा सभापति लामिछाने र परराष्ट्रमन्त्री तथा रास्वपा नेता शिशिर खनालका विदेश भ्रमणतर्फ संकेत गर्दै नेपालजस्तो सानो देशका लागि भूराजनीतिक संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने बताए।
‘नेपालजस्तो सानो देशले भूराजनीतिमा एउटा सानो गल्ती गर्दा पनि त्यसको मूल्य चुकाउन गाह्रो हुन्छ। त्यसमा पर्याप्त बुद्धि पुर्याउनुहोला,’ उनले भने।
उनले सरकार गठन भएको छोटो समयमै केही प्रश्नहरू उठ्न थालेको उल्लेख गर्दै राष्ट्रपति संस्था लगायत राज्यका संस्थाहरूलाई कमजोर बनाउन नहुने बताए। लोकतन्त्रको दीर्घकालीन सुदृढीकरणका लागि सबै संवैधानिक र राज्य संस्थाहरू बलियो हुनुपर्नेमा उनले जोड दिए।
‘यदि संस्थाहरू कमजोर भए भने प्राप्त जनमत सधैँभरि रहँदैन। लोकतन्त्रमा सबै संस्थाहरू बलियो हुनुपर्छ,’ ज्ञवालीले भने।






प्रतिक्रिया