भरतपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले दिएको मतको सम्मान गर्दै कुनै पनि व्यक्ति वा दलप्रति प्रतिशोध नराखी अघि बढ्ने बताए। राजनीतिक दलहरूबीच देखिएको वैमनस्यता अन्त्य गरी सहकार्य र सहयोगको वातावरण निर्माण गर्दै देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ थियो।
सभापति लामिछानेले पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने प्रतिबद्धता जनाउँदै महाधिवेशनबाट एकताको सन्देश प्रवाह गरिने उल्लेख गर्नुभयो। पुराना दलहरूले भोगेका अनुभवबाट शिक्षा लिएर रास्वपाले गुटरहित ढंगले अघि बढ्न सके कसैले पनि पार्टीलाई कमजोर बनाउन नसक्ने उनले दाबी गरे।
‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन,’ भन्दै उहाँले गुट–उपगुटलाई विषालु फलसँग तुलना गर्नुभयो। अहिले पार्टीले कस्तो बीउ रोप्ने भन्ने निर्णायक मोडमा रहेको उनको भनाइ थियो।
रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको दाबी गर्दै उनले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्तिहरू पनि राजनीतिमा आकर्षित हुन थालेको बताए।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्याहरू समाधान गर्न सुझाव दिँदै ती दलभित्रका विवाद समाधान हुन नसके त्यसको असर समग्र मुलुकमा पर्ने चेतावनी दिनुभयो। “राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अन्य दलहरू पनि सुध्रिनुपर्छ,” उनले बताए।
उनले पूर्वसहमति अनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निर्धारित लक्ष्यअनुसार काम गरिरहेको दाबी गरे। फुटबलको उदाहरण दिँदै उहाँले सरकारको नेतृत्वलाई सफल बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताए।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति लामिछानेले एकता, सहकार्य र सकारात्मक राजनीतिक संस्कारलाई प्राथमिकता दिने सन्देश दिएका छन्।







प्रतिक्रिया