कपिलवस्तु- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापाले पार्टी पुनर्गठनको बहसमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै जिम्मेवार ठहर गर्ने प्रयासप्रति आपत्ति जनाएका छन्। पुनर्गठन कार्यदलसँगको छलफलमा नेता थापाले नेतृत्वको सामूहिक जिम्मेवारीबारे प्रश्न उठाउँदै ‘विष्णुप्रसाद पौडेल र पृथ्वी सुब्बा गुरुङ चाहिँ किन पानीमाथिको ओभानो हुने, केपी ओली मात्रै हट्नुपर्ने ?’ भन्दै प्रश्न गरेका छन्।
नेता थापाले पार्टी पुनर्गठनलाई व्यक्ति केन्द्रित नभई वैचारिक, राजनीतिक र साङ्गठनिक सुधारको प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताए। उनले पुनर्गठनको उद्देश्य पार्टीलाई एकताबद्ध बनाउनु र विधि, नीति तथा प्रक्रियागत कमजोरी सच्याउनु हुनुपर्ने धारणा राखे।
सोभियत संघको ‘पेरेस्त्रोइका’ उदाहरण दिँदै उनले गलत ढङ्गले गरिएको पुनर्गठनले पार्टी र आन्दोलनलाई नै कमजोर बनाउन सक्ने चेतावनी दिए। ‘पेरेस्त्रोइकाजस्तै पुनर्गठनको थालनी हो भने हामीले गोर्भाचोभ जन्माउन सक्छौँ, तर त्यसले पार्टीलाई अगाडि बढाउँदैन,’ नेता थापाले भने।
नेता थापाले पुनर्गठनबारे पार्टी सचिवालयले एकीकृत दृष्टिकोण बनाएको छ कि छैन भन्ने प्रश्न पनि उठाए। उनका अनुसार पुनर्गठनको आधार पार्टीलाई वैचारिक शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण गर्दै एकताबद्ध बनाउनु हुनुपर्छ।
नेता थापाले पार्टीभित्र अहिले तीन प्रकारका धारणा देखिएको उल्लेख गरे। पहिलो, सबै समस्या अन्तर्राष्ट्रिय कारणले भएको भन्नेस दोस्रो, सबै दोष केपी ओली नेतृत्वलाई दिनेश र तेस्रो, आन्तरिक कमजोरी र बाह्य प्रभाव दुवैलाई स्वीकार गर्ने। आफू तेस्रो दृष्टिकोणको पक्षमा रहेको उनले स्पष्ट पारे।
नेता थापाले लुम्बिनी प्रदेश सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। प्रदेश सरकारका कारण निर्वाचनका क्रममा कार्यकर्ताले जनतामाझ असन्तुष्टि सामना गर्नुपरेको उनको भनाइ थियो। मन्त्रीहरूले स्थानीय तहका प्राथमिकता नसुनेको आरोपसमेत उनले लगाए।
नेता थापाले पार्टीभित्र विधि, नीति र योग्यतामा आधारित प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए। “मेरिटोक्रेसी छैन भने त्यसलाई बहाल गर्नुपर्छ, विधि मिचिएको छ भने त्यहीँबाट सच्याउनुपर्छ,” उनले भने।
छलफलको अन्त्यमा नेता थापाले पुनर्गठनलाई नेतृत्व परिवर्तनको अभियान नभई पार्टी सुधार र एकताको माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए। उनका अनुसार यदि विधिसम्मत, नीतिसम्मत र प्रक्रियासम्मत ढङ्गले समाधान खोजियो भने पार्टी पुनः एकताबद्ध भएर अगाडि बढ्न सक्छ।






प्रतिक्रिया