चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय महाधिवेशनअन्तर्गत कार्यपालिका अंगहरूको निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारका प्रस्तावक र समर्थकसम्बन्धी पाँचबुँदे नियम बनाएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनामा पार्टी सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक तथा समर्थकले अनिवार्य रूपमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यस्तै पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले एक जना प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको मनोनयन फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाउने स्पष्ट पारेको छ। यस्तै, एक जना समर्थकले पनि एकभन्दा बढी उम्मेदवारको पक्षमा समर्थकका रूपमा हस्ताक्षर गर्न नपाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ। प्रस्तावक वा समर्थकका रूपमा हस्ताक्षर गर्ने सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा समावेश हुनुपर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार उल्लिखित नियमविपरीत उम्मेदवारी मनोनयन फारम दर्ता भएमा त्यस्ता उम्मेदवारी स्वतः अमान्य हुनेछन्। आयोगले सम्बन्धित उम्मेदवार तथा प्रतिनिधिहरूलाई नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।







प्रतिक्रिया