काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्।
एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेपछि संसदीय दलको बैठक बोलाएको हो। बैठक आज दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।
उपाध्यक्ष पौडेललाई २०८३ असार ८ गते सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसलगत्तै विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक आह्वान गरेको जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को आगामी रणनीति तथा पछिल्लो विकसित परिस्थितिबारे छलफल हुने एमाले स्रोतले जनाएको छ। साथै, उपाध्यक्ष पौडेल पक्राउ प्रकरण र त्यसको राजनीतिक तथा कानुनी पक्षबारे पनि बैठकमा विशेष छलफल हुने बताइएको छ।
पौडेलको पक्राउपछि एमालेले घटनालाई गम्भीर रूपमा लिँदै आएको छ भने पार्टीका शीर्ष नेताहरूले यस विषयमा साझा धारणा तय गर्न बैठक केन्द्रित भएको जनाएका छन्।






प्रतिक्रिया