काठमाडौँ-नेकपा (एमाले) संसदीय दलको आकस्मिक बैठक मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि बैठक बसेको हो।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी छन्। पौडेल पक्राउ प्रकरणपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा प्रतिरोधका कार्यक्रमबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।
एमालेले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन अभियानमा रहेका बेला सोमबार सुर्खेतबाट उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएका उनलाई मंगलबार बिहान काठमाडौँ ल्याइएको छ।
उपाध्यक्ष पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ। पार्टी नेताहरूले यस कदमको राजनीतिक रूपमा प्रतिरोध गर्ने चेतावनी दिँदै आएका छन्। सोही विषयमा साझा धारणा बनाउन र आगामी कदम तय गर्न संसदीय दलको बैठक बोलाइएको जनाइएको छ।












प्रतिक्रिया