काठमाडौँ–नेकपा (एमाले) संसदीय दलको बैठक मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेपछि विकसित राजनीतिक परिस्थितिबारे ठोस रणनीति तय गर्न बैठक बसिरहेको हो।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू र संघीय संसद्का सांसदहरूको उपस्थिति रहेको छ। बैठकमा पौडेलको पक्राउ प्रकरण, त्यसपछि उत्पन्न राजनीतिक अवस्था, पार्टीले अवलम्बन गर्ने रणनीति तथा आन्दोलन र प्रतिरोधका कार्यक्रमबारे सघन छलफल भइरहेको नेताहरूले बताएका छन्।
बैठकमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन्। बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्।
एमालेले देशव्यापी रूपमा चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन अभियान सञ्चालन गरिरहेका बेला २०८३ असार ८ गते सोमबार उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएका उनलाई मंगलबार बिहान मात्रै काठमाडौँ ल्याइएको छ।
‘राजनीतिक प्रतिशोध’ भन्दै एमालेको आपत्ति
एमालेले उपाध्यक्ष पौडेलको पक्राउलाई सरकारको राजनीतिक प्रतिशोधपूर्ण कदमको रूपमा व्याख्या गरेको छ। सरकारले राजनीतिक पूर्वाग्रह राखेर प्रमुख प्रतिपक्षी दलका नेतालाई निशाना बनाएको आरोप एमालेको छ।
‘यो सरासर राजनीतिक प्रतिशोध हो। पार्टीका शीर्ष नेतालाई यसरी नियन्त्रणमा लिएर त्रसित बनाउन खोजिएको छ, जसको हामी राजनीतिक र कानुनी रूपमा कडा प्रतिरोध गर्छौँ,’ एमालेका एक नेताले भने।
संसदीय दलको यो आकस्मिक बैठकले पक्राउ प्रकरणबारे पार्टीको आधिकारिक र साझा धारणा सार्वजनिक गर्ने तथा संसद् र सडक दुवै ठाउँबाट गरिने आगामी राजनीतिक कदम र आन्दोलनका कार्यक्रमहरूको घोषणा गर्ने बुझिएको छ।
एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ। साँझ ६ बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो।






प्रतिक्रिया