काठमाडौँ-नेकपा (एमाले) संसदीय दलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरिएको भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
मङ्गलबार पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले सांसद गुरु बरालले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई ‘सुनियोजित’ र ‘विधिको शासन विपरीत’ को कदम संज्ञा दिए।
बैठकपछि सांसद बरालले भने, ‘उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित र विधिको शासन विपरीत हो। यसको विरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्छ।’
प्रमुख सचेतक ऐन महरका अनुसार बैठकले सात बुँदे प्रस्ताव पनि पारित गरेको छ। उनले पौडेलको पक्राउलाई प्रतिशोधपूर्ण, अपमानजनक र गैरकानुनी भएको भन्दै अविलम्ब रिहाइको माग गरिएको बताए।
संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए। संसदीय दलको बैठक लगत्तै एमालेको सचिवालय बैठक अध्यक्ष ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ। उक्त बैठकले पार्टीको आगामी थप रणनीति तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो।


प्रतिक्रिया