काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै निर्वाचनताका गरेका प्रतिबद्धताविपरीत व्यवहार देखाएको आरोप लगाएका छन्।
आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले ‘मितव्ययिता र सुशासन’को चर्को नारा लगाएर जनताको मत प्राप्त गरेका नयाँ राजनीतिक शक्तिहरू सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको ठूलो समूह खडा गर्न व्यस्त भएको टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले राज्यकोषको दोहन रोक्ने तथा राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने वाचा गर्नेहरूले नै अहिले विभिन्न मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्न आफ्ना कार्यकर्ताको भर्ती गरिरहेको आरोप लगाए।
महासचिव पोखरेलले परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गरेका मतदाताले वर्तमान गतिविधिलाई कसरी लिएका होलान् भन्ने प्रश्नसमेत उठाएका छन्।
महासचिव पोखरेलले जनताको भरोसामाथि यस्तो व्यवहार ‘भद्दा मजाक’ भएको उल्लेख गर्दै सरकारलाई निर्वाचनका बेला गरेका प्रतिबद्धता सम्झिन आग्रह गरेका छन्। साथै स्वेच्छाचारी शैली त्यागेर जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन्।







प्रतिक्रिया