चितवन–चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा बसेको १९औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड ३९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ २१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विस्तार, वन तथा वातावरण संरक्षण र सुशासन सुदृढीकरणलाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
बजेटअनुसार आर्थिक विकासतर्फ ५ करोड ११ लाख ८२ हजार रुपैयाँ, सामाजिक विकासतर्फ २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २२ करोड ८६ लाख १३ हजार रुपैयाँ, वन तथा वातावरणतर्फ ८८ लाख ७१ हजार रुपैयाँ तथा सुशासन एवं संस्थागत विकासतर्फ १२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको विकासलाई विशेष प्राथमिकता दिइएको बताए। उनका अनुसार विद्यालय भवन निर्माण तथा सुधार, पर्यटकीय र धार्मिक स्थलको पूर्वाधार विकास, इच्छाकामना अस्पतालको सुदृढीकरण तथा रैथाने कृषि र संस्कृतिको संरक्षणसम्बन्धी कार्यक्रम बजेटमा समेटिएका छन्।
यस्तै, वडास्तरीय पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, भवन निर्माण तथा स्थानीय आवश्यकता आधारित योजनाहरूलाई पनि आगामी वर्ष निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।
मुख्य प्राथमिकता र कार्यक्रमहरू
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रमहरूलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको छ।
बजेटमा समेटिएका मुख्य योजनाहरू
- विद्यालय भवन निर्माण तथा सुधार
- पर्यटकीय तथा धार्मिक स्थलहरूको पूर्वाधार विकास
- इच्छाकामना अस्पतालको सुदृढीकरण
- रैथाने कृषि तथा संस्कृतिको संरक्षण
- वडास्तरीय पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, भवन निर्माण र स्थानीय आवश्यकतामा आधारित योजनाहरूको निरन्तरता






प्रतिक्रिया