काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा मतदानका लागि प्रयोग हुने इलेक्ट्रोनिक भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम इन्ट्री गर्न करिब ६ घण्टा लाग्ने भएको छ।
भोटिङ व्यवस्थापनमा खटिएका रामलक्ष्मण भोटिङ मेसिनका एक प्राविधिकका अनुसार विगतमा नाम इन्ट्री गर्न १५ घण्टासम्म लाग्ने गरे पनि यसपटक प्रविधिमा सुधार गरिएकाले प्रक्रिया छोटिएको हो। उनले प्राविधिक टोली अन्तिम नामावलीको प्रतीक्षामा रहेको बताए।
महाधिवेशनमा मतदानका लागि ८० वटा रामलक्ष्मण भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि करिब ४०० जनाको उम्मेदवारी परेको छ।
हालसम्म प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। प्रारम्भिक नामावली प्रकाशन भएपछि दाबी–विरोधका लागि समय उपलब्ध गराइनेछ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाइने जनाइएको छ।
उम्मेदवारहरूको संख्या धेरै भएकाले नामावली टुंगिएपछि मात्र भोटिङ मेसिनमा विवरण इन्ट्री गर्ने काम सुरु हुने प्राविधिक टोलीले जनाएको छ।






प्रतिक्रिया