अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई समूह रोजेको भन्दै कोशीकी सांसद लिम्बूलाई पदमुक्त गर्ने जसपाको तयारी

अशोक राई समूह रोजेको भन्दै कोशीकी सांसद लिम्बूलाई पदमुक्त गर्ने जसपाको तयारी


काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ। पार्टी विभाजनका बेला अशोक राई नेतृत्वको नयाँ दल (जसपा) रोजेको भन्दै उनलाई सांसद पदबाट हटाउने प्रक्रिया अघि बढाइएको जसपा नेपालले जनाएको छ।

लिम्बू जसपा नेपालको तर्फबाट कोशी प्रदेशसभामा समानुपातिक सांसद हुन् भने उनी यसअघि स्वास्थ्यमन्त्री समेत भइसकेकी छन्। सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई नै आधिकारिकता दिने फैसला गरेसँगै पार्टीले लिम्बूविरुद्ध कारबाहीको आन्तरिक तयारी सुरु गरेको हो।

नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: जयराम यादव

जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले सांसद लिम्बूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। उनले भने: ‘पार्टीले उहाँलाई विश्वास गरेर प्रदेशसभामा पठाएको थियो। तर, पार्टी सङ्कटमा परेको बेला उहाँले अर्को समूह रोज्नुभयो। यस्तो अवस्थामा अब पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त हुँदैन।’

अन्याय गरिए कानुनी उपचार खोज्छु: निर्मला लिम्बू

सांसद निर्मला लिम्बूले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कारबाही गरिए कानुनी लडाइँ लड्ने चेतावनी दिएकी छन्। दल विभाजन हुँदा आफू कांग्रेस वा एमाले जस्ता अन्य दलमा नगएको स्पष्ट पार्दै उनले भनिन्, ‘पार्टी एकता हुँदा म अशोक राई नेतृत्वको संघीय समाजवादीबाट आएकी हुँ। त्यसैले विभाजन हुँदा पनि मैले अशोक राईकै दल रोजेकी हुँ। नेताहरूको आपसी लडाइँको सिकार बनाएर ममाथि बिना गल्ती अन्याय गरिए म कानुनी उपचारका लागि अदालत जान्छु।’

निर्वाचन कार्यालयले बारम्बार सनाखतका लागि आउन पत्र पठाएकाले आफू गएको उल्लेख गर्दै उनले अरूका कारण आफूमाथि अन्याय भए कानुनी लडाइँ लड्नुको विकल्प नभएको थपिन्।

Skip This