काठमाडौँ-ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ७ अर्ब ४७ करोड ४१ लाख रूपैयाँको बजेट ल्याएको थियो।
सीमित स्रोत-साधनका बीच नगरवासीका बढ्दा अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख बज्राचार्यले बताइन्।
कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ (५६.६ प्रतिशत) तथा चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ (४३.४ प्रतिशत) विनियोजन गरिएको छ।
महानगरले चालु खर्चतर्फ चालु आर्थिक वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ अर्थात् ९ प्रतिशत बढी बजेट छुट्याएको छ। कर्मचारीको तलबवृद्धि, प्रोत्साहन भत्ता तथा सामाजिक सुरक्षा भत्ताजस्ता अनिवार्य दायित्वका कारण चालु खर्च बढेको महानगरको भनाइ छ।
यता, सङ्घीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त हुने अनुमानका कारण पुँजीगत खर्च भने गत वर्षको तुलनामा ६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।
महानगरले आगामी वर्षको बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य वित्तीय आधार बनाएको छ। आय अनुमानअनुसार सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त तथा समपूरक अनुदान गरी १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
महानगरले आन्तरिक आय, मालपोत रजिस्ट्रेसन शुल्क तथा मनोरञ्जन करबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। बजेट कार्यान्वयनका क्रममा अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ भने नगद मौज्दातबाट व्यवस्थापन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।






प्रतिक्रिया