हाङपाङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन सिधै उनीहरुका समस्या सुन्ने भएको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले आज प्रष्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसका लागि विद्यार्थीसँग पालिका अध्यक्ष कार्यक्रम प्रष्ताव गरेका छन् ।
पोमुले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक आवश्यकता पहिचान र सञ्चारका लागि अध्यक्षले सिधै विद्यार्थीसँग सञ्चार गर्न लागेको जनाएका हुन् । ‘शैक्षिक आवश्यकता पहिचान र सञ्चारका लागि प्रत्येक चार महिनाको अन्तरालमा माध्यमिक विद्यालयमा विद्यँर्थीसँग पालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ’ पोमुले भनेका छन् ।
पालिकाले एउटा बच्चा भर्ना मेरो दायित्व कार्यक्रम पनि अघि सारेको छ । यसका लागि आमा प्रोत्साहन कार्यक्रम अघि बढाएर विद्यालय उमेरका शतप्रतिशत विद्यार्थीलाई विद्यालयको पहुँचमा पुर्याउने पालिकाको लक्ष्य राखेको पोमुले जनाएका छन् ।
नीति कार्यक्रममा हाङपाङ स्वास्थ्य चौकीमा एक्स रे मेसिन र जनशक्तिको व्यवस्थापन गर्ने पनि उल्लेख छ । यस्तै घरमा शुन्य सुत्केरी अभियान र प्रत्येक तीन महिनामा विद्यालय र स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्ने प्रवन्ध गर्ने उल्लेख छ । पालिका भित्रका ३० वर्ष भन्दा माथीमा नागरिकको ब्लड प्रेसर र सुगर हरेक ३ महिनामा जाँच्ने कार्यक्रम पनि अघि सारिएको पोमुले बताए ।






प्रतिक्रिया