अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवसताक्षीको ९४ करोड ८७ लाखको बजेट, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकता

शिवसताक्षीको ९४ करोड ८७ लाखको बजेट, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकता


झापा-झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ८७ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान समेटिएको बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेटअनुसार संघीय तथा प्रदेश सरकारका सशर्त कार्यक्रमका लागि ४८ करोड ५८ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरस्तरीय योजना, विषयगत शाखा तथा वडागत योजनाका लागि २७ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ भने प्रशासनिक खर्चतर्फ १८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कुल बजेटमध्ये ३१.५ प्रतिशत पुँजीगत तथा ६८.५ प्रतिशत चालु खर्च रहेको छ। सामाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरणका लागि मात्रै ४० करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उपप्रमुख कार्कीले बताइन्।

नगरपालिकाले ११ वटै वडालाई सूत्रका आधारमा ५६ लाखदेखि ७२ लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको छ। वडागत योजनाका लागि कुल ७ करोड रुपैयाँ छुट्याइएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख मेगाहाङ थोप्राले स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। उनका अनुसार अघिल्ला वर्षदेखि सञ्चालनमा रहेका अधिकांश योजनालाई निरन्तरता दिइएको छ भने केही महत्वपूर्ण योजनामा थप बजेट व्यवस्थासहित कार्यान्वयन गरिनेछ।

बजेटमा दुधे रंगशालाको स्तरोन्नतिका लागि प्याराफिट निर्माण तथा फ्लडलाइट जडान गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै स्मार्ट विद्यालय निर्माण कार्यक्रमका लागि ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

नगरपालिकाले ‘सुन्दर शहर, उज्यालो नगर’ कार्यक्रमलाई निरन्तरता दिएको छ। साथै पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा नगर रिङरोड निर्माण कार्यलाई आगामी वर्ष पनि अघि बढाइने जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध, व्यवस्थित र दिगो नगर निर्माणको लक्ष्य लिएको उल्लेख गरिएको छ। नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाफङ्फेले गरे।

Skip This