अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाँडादेवी गाउँपालिकाले ल्यायो ६० करोड ५७ लाखको बजेट

खाँडादेवी गाउँपालिकाले ल्यायो ६० करोड ५७ लाखको बजेट


रामेछाप-रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ५७ लाख २१ हजार २३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, उद्यम विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

बजेटअनुसार निर्माणाधीन खाँडादेवी अस्पतालका लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ। लिफ्ट खानेपानी आयोजनाको विद्युत् अनुदानका लागि २५ लाख, १०० वटा बाख्राको खोर निर्माण कार्यक्रमका लागि २० लाख, एम्बुलेन्स सेवाका लागि ४ लाख तथा पानी भण्डारण ट्याङ्की वितरण कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको छ।

धार्मिक तथा पर्यटन पूर्वाधार विकासअन्तर्गत खाँडादेवी मन्दिरसम्म पुग्ने सडक निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। निर्माणाधीन गुम्बा निर्माणका लागि पनि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै आवधिक योजना निर्माणका लागि ५ लाख तथा वडा नं. २ को वडा कार्यालय भवन निर्माणका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।

गाउँसभामा चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले ५९ करोड ८८ लाख २० हजार ८४० रुपैयाँको कुल बजेटमध्ये जेठ मसान्तसम्म चालुतर्फ ६०.९८ प्रतिशत र पुँजीगततर्फ २६.३८ प्रतिशत खर्च भएको जानकारी दिइन्। हालसम्म गाउँपालिकाको समग्र वित्तीय प्रगति ४९.०३ प्रतिशत रहेको उनले बताइन्।

गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता विकास, खानेपानी विस्तार, पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको बताए। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

Skip This