अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोड बजेट, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता

भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोड बजेट, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता


भक्तपुर- भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको बीसौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेकी हुन्।

नगरपालिकाको आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु आर्थिक वर्षको बैंक मौज्दातलाई आधार बनाएर बजेट व्यवस्थापन गरिएको उपप्रमुख जोशीले जानकारी दिइन्।

विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ (६१.१३ प्रतिशत), पुँजीगततर्फ ९३ करोड ३१ लाख रुपैयाँ (३६.६० प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ५ करोड ८० लाख रुपैयाँ (२.२७ प्रतिशत) छुट्याइएको छ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै शैक्षिक विकास तथा शिक्षा कार्यक्रमका लागि कुल ५६ करोड २७ लाख ४० हजार रुपैयाँ अर्थात् कुल बजेटको २२.०६ प्रतिशत विनियोजन गरेको छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधासम्पन्न बनाउने लक्ष्यसहित एमआरआई तथा आईसीयू सेवा सञ्चालनका लागि २३ करोड रुपैयाँ छुट्याइएको छ। समग्र स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि ३५ करोड ६४ लाख रुपैयाँ अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरिएको छ।

त्यसैगरी सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि ७ करोड ९० लाख रुपैयाँ, भौतिक पूर्वाधार निर्माणका लागि ३५ करोड रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि ३ करोड ८० लाख रुपैयाँ, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापनका लागि २३ करोड १५ लाख ८० हजार रुपैयाँ बजेट छुट्याइएको छ।

खेलकुद विकास तथा पूर्वाधार निर्माणका लागि ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। साथै विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘प्रकोप व्यवस्थापन कोष’ सुदृढीकरणका लागि ४० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार विकास, पर्यटन तथा वातावरणीय सुधारलाई केन्द्रमा राखेर आगामी वर्षको बजेट ल्याएको जनाएको छ।

Skip This