चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। उम्मेदवारी फिर्ताको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले अन्तिम सूची प्रकाशन गरेको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावली अनुसार विभिन्न ६ वटा मुख्य पदका लागि ३० जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार उपसभापति (खुला) पदमा स्वर्णिम वाग्ले निर्विरोध जस्तै देखिएका छन् भने उपसभापति (महिला) पदका लागि सविता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।
दुई सदस्य चयन हुने सहमहामन्त्री (खुला) पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैर, हरि ढकाल र हिमेश पन्त उम्मेदवार बनेका छन्।
सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा प्रतिस्पर्धामा उत्रिएका छन्।
निर्वाचन समितिका अनुसार अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। महाधिवेशन प्रतिनिधिको मतबाट नयाँ नेतृत्व चयन गरिनेछ।
रास्वपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनलाई पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्वको दिशा निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। महाधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, नीति निर्माण र राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी सम्हाल्नेछ।








प्रतिक्रिया