विराटनगर- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँग सहकार्यका लागि सकारात्मक वातावरण बनेको र त्यसलाई छिट्टै अगाडि बढाइने बताएका हुन्।
संयोजक प्रचण्डले वामपन्थी शक्तिहरूबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूसँग पनि संवाद जारी रहेको जानकारी दिए।
संयोजक प्रचण्डले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए। महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ संयोजक प्रचण्डले भने ।
प्रचण्डले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको आवश्यकता औंल्याउँदै पार्टी एकता, वाम सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई आगामी रणनीतिक प्राथमिकताका रूपमा अघि बढाइने बताए।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताए ।






प्रतिक्रिया