काठमाडौँ–वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन लागिएको भन्दै सुकुम्बासीहरूले शुक्रबार काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।
राज्यले जबरजस्ती विस्थापन गरेको आरोप लगाउँदै विभिन्न कम्युनिस्ट घटकहरूको सहभागितामा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्याप्रति संवेदनशील नदेखिएको बताएका छन्। उनीहरूले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने कार्य मानवअधिकार र आवास अधिकारविपरीत रहेको दाबी गरे।
प्रदर्शनकारीहरूले तत्काल निष्कासन प्रक्रिया रोक्न, प्रभावित परिवारहरूको सम्मानजनक पुनर्स्थापना सुनिश्चित गर्न तथा दीर्घकालीन रूपमा भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित नगरी कुनै पनि बस्ती हटाउन नहुने बताएका छन्।
विरोध प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजीसमेत गरिएको थियो। सहभागीहरूले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय कार्यान्वयन गरिए आफूहरू पुनः पुरानै स्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन्।
यसैबीच, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका व्यक्तिहरूलाई असार १९ गतेभित्र स्थान खाली गर्न निर्देशन दिएको छ।
गत वैशाखमा काठमाडौँ उपत्यकाका नदीकिनार क्षेत्रमा रहेका बस्ती हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। अहिले वैकल्पिक बसोबासको व्यवस्था नभएको अवस्थामा होल्डिङ सेन्टर खाली गराउन लागिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।






प्रतिक्रिया