काठमाडौँ-जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मंगलबारको अद्यावधिक विवरण अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ।
देशका अन्य हिमाली र पहाडी भूभागमा आंशिक बदली रहे पनि तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहेको मौसमविद् माधवी सिग्देलले जानकारी दिएकी हुन् ।
पछिल्लो २४ घण्टाको मौसमी अवस्था हेर्दा सबैभन्दा धेरै वर्षा अछाम जिल्लाको रामारोशनमा मापन गरिएको छ। त्यहाँ १२.२ मिलिमिटर वर्षा भएको छ। यसैगरी बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। कर्णाली प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम स्तरको वर्षा भएको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका करिब १० देखि ३० प्रतिशत स्थानमा मध्यम स्तरको हिमपात वा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १० प्रतिशत जति स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।
रातिको समयमा भने कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुनेछ। देशका अन्य हिमाली भूभागमा आंशिक बदली रहने र पहाडी तथा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसममा आउन सक्ने यो परिवर्तनलाई मध्यनजर गर्दै महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका लागि पहेँलो रङको चेतावनी जारी गरेको छ। देशका अन्य भूभागका लागि भने सामान्य अवस्था जनाउने हरियो रङको सङ्केत दिइएको छ।
अहिले धान काट्ने र भित्र्याउने मुख्य सिजन भएकोले किसानलाई विशेष सावधानी अपनाउन मौसमविद् सिग्देलले सुझाव दिएकी छन्। उनले भनेकी छन्, ‘अहिले धान काट्ने तथा भित्र्याउने समय रहेकोले किसानहरूले मौसम पूर्वानुमान र चेतावनीको जानकारी लिएर मात्र आफ्नो क्षेत्रको मौसम हेरेर बाली काट्ने तथा भित्र्याउने योजना बनाउनुहोला।’
थप मौसमी जानकारी लिनुपरेमा विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालहरू नियमित रूपमा हेर्न पनि महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया