अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित


काठमाडौं-नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्। निर्वाचन सार्वजनिक मतपरिणामअनुसार शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गर्दै चार प्रतिस्पर्धीलाई पछि पारेका हुन्।

शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन्। त्यस्तै, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट पनि सहमहामन्त्री पदका प्रतिस्पर्धी थिए।

यद्यपि, निर्वाचन समितिले शाहीको जितको औपचारिक घोषणा गरिसकेको छैन। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले मतगणना सम्पन्न भएको र प्राप्त मत यकिन गर्ने काम भइरहेको जानकारी दिएका छन्।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले सहमहामन्त्री पदमा दोस्रो प्रयासमा सफलता प्राप्त गरेका हुन्। यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदका उम्मेदवार थिए। उक्त निर्वाचनमा उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।

पाँच वर्षपछि भएको १५औँ महाधिवेशनमा भने शाहीले सोही पदमा प्रतिस्पर्धा गर्दै अग्रता हासिल गरेका हुन्। निर्वाचन समितिको औपचारिक घोषणापछि उनको निर्वाचित परिणामले आधिकारिकता पाउनेछ।