विराटनगर-नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। गिरीलाई आज बिहान आफ्नै घरबाट पक्राउ परेका गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएको टोलीले शनिबार बिहान विराटनगर–८ मधुमारास्थित उनको निवासबाट गिरीलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक अभिषेक श्रेष्ठ को नेतृत्वमा खटिएको टोलीले गिरीको घर तथा बाहिर पार्किङ गरिएका दुईवटा सवारीसाधनमा समेत खानतलासी गरेको थियो। शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता, जाडो–गर्मीका लागि दिइने पोशाक भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गरेको आरोप छ।
हाल मोरङ कारागारमा १,१९९ कैदीबन्दी रहेका छन्। उनीहरूले पाउने दैनिक भत्ता र श्रमबाट आर्जित रकममध्ये केही रकम गिरीले कारागारका चौकीदार राकेश यादव सँगको मिलेमतोमा लिने गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कैदीबन्दीको रकम विभिन्न माध्यम हुँदै गिरी वा उनका सहयोगीहरूको खातामा पुगेको हो वा होइन भन्ने विषयमा प्रमाण संकलन भइरहेको छ।






प्रतिक्रिया