दमक-जननेता मदनकुमार भण्डारीको ७५औं जन्म जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले तथा एमाले सम्बद्ध एवम् निकट लगायत विभिन्न सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी जननेताको सम्झना गरेका छन्।
यही अवसर पारी मदन भण्डारी फाउण्डेशन झापाले दमकमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रममा भएको हो। नेकपा एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १६ महिलासहित ६२ जनाले रक्तदान गरेको फाउन्डेसनका जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि दाहालले जननेताका विचार र दर्शनको माध्यमबाट पार्टीलाई थप सशक्त बनाउँदै नेपाली क्रान्ति र पार्टीलाई पुनर्गठन गर्नु पर्ने बताए। विचार र विकाशका दृष्टिकोणले एमाले नै श्रेष्ठ पार्टी भएको उल्लेख गर्दै उनले पार्टी पुनर्गठनको विषयलाई व्यक्ति लक्षित बनाउन नहुने उनले जनाए । एक व्यक्तिलाई हटाएर वा परिवर्तन गरेर पार्टी बलियो बनाउने र पुनर्गठन गर्ने कुरा उपयुक्त नभएको समेत दाहालले बताए । जननेताका विचार र जनताको बहुदलीय जनवादका माध्यमबाट एमालेलाई थप सशक्त र बलियो पार्न सवै कार्यकर्ताहरूको जिम्मेवारी भएको उनले उल्लेख गरे।
कार्यक्रममा फाउन्डेसनका जिल्ला अध्यक्ष हरिचरण शिवाकोटीले पार्टीका तत्कालीन महासचिव जननेता भण्डारीका विचार र आदर्शबाट नै समतामूलक समाजको स्थापना गर्न सकिने बताए।




प्रतिक्रिया