नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको आवश्यकता वामपन्थी एकता भएको बताएका छन्।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता खनालले समयले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँ उभ्याएको जिकिर गरे।
नेता खनालले निकै लामो समयपछि दुई प्रमुख वामपन्थी दलका नेताहरू एकै ठाउँ उपस्थित भएकोमा खुसी लागेको बताए। उनले आजको आवश्यकता वामपन्थी एकता रहेको समेत बताए।
‘वामपन्थी एकता आज मात्रै होइन, अनेकौँ समयदेखि आवश्यक थियो,’ नेता खनालले भने, ‘बीचको कालखण्डमा कहिले सिङ पलायो, कहिले जुरो पलायो। कहिले के-के पलायो। अनि एकताबद्ध हुन सकेनौं। परिस्थितिले हामीलाई बाध्यात्मक अवस्थामा ल्याएको छ। अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ।’

उनले साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई परास्त गर्न एक हुनुको विकल्प नगरेको जिकिरसमेत गरेका छन्। ‘म सबै कमरेडहरूलाई एकताबद्धका लागि अनुरोध गर्न चाहन्छु। अब दीर्घकालीन रूपमा एकता हुने थालनी गरौँ,’ खनालले भने ‘तब मात्रै आज हाम्रो देशमाथि साम्राज्य र प्रक्रियावादीहरूले बबण्डर मच्चाइरहेकाहरू परास्त हुनेछन्।’
उनले आजकै मितिदेखि कार्यगत एकता गरेर जानुपर्ने बताए । आज नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले चुनावअघि नै एकता गरेको भए आज यो हविगत भोग्न नपर्ने अनुमान गरे । ‘चुनावअघि हामी मिलेको भए आजको परिस्थिति भोग्नुपर्ने थिएन । बालेन शाहको तानाशाह चल्ने थिएन’, खनालले जिकिर गरे ।
खनालले आफूले पाएको अवसर खेर गएको बारे पनि गम्भीर आत्मसमीक्षा गर्दै नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए।
साथै उनले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको समेत बताए। ‘मदन भण्डारी र जीवराज आश्रितको हत्या षडयन्त्रपूर्ण र कायरतापूर्वक गरिएको हो’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘ती हत्यारा को हुन्, कसले गरेको थियो ? त्यो पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ।’
उनले जसरी मदन र जीवराज आश्रितको हत्याको षडयन्त्र रचियो त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने घोर षडयन्त्र र कायरता रहेको बताए । उनले त्यस्तो षडयन्त्र अझै जारी रहेकाले सतर्क हुन जरुरी रहेको पनि बताए ।
नेता खनालले मदन भण्डारीले नयाँ जनवादी क्रान्तिका कालमा मदनले जुन कार्यदिशा अघि सारे पनि अहिले समाजवादी क्रान्तिका लागि वामपन्थीहरूले सोही किसिमको नीति अघि सार्नुपर्ने बताए।






प्रतिक्रिया