काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा एक समय अत्यन्त बलियो बनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेता नेपालले हामीमा के-के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए।
नेता नेपालले कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान अवस्था र भविष्यको दिशाबारे आत्मसमीक्षा गर्दै एकताबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले जनताको विश्वास कायम राख्न विचार, व्यवहार र नेतृत्व शैलीमा समेत समीक्षा अपरिहार्य रहेको बताए।
‘यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्न सक्ने कुरामा मिल्नुपर्छ। राष्ट्रियतामा ठुलो चुनौती छ’, नेता नेपालले भने, ‘देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ। विदेशीले हाम्रो देशमा हालीमुहाली गर्नबाट हामी सतर्क हुनुपर्छ। कम्युनिस्ट आन्दोलनमा के के विकृतिहरू आए ? यसको आत्मसमीक्षा गरौँ। यो एउटा पार्टीका निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटक छन् तिनले आत्ममन्थन र चिन्तन गर्नुपर्नेछ।’
वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्ने बताए।
‘जनताका समस्या सम्बोधन गर्ने कुरा होस् वा समस्या उजागर गर्ने कुरा होस् त्यो काम हामीले गर्नुपर्छ’, नेता नेपालले भने । कम्युनिस्ट नेताहरूले आत्म केन्द्रीत चिन्तन परास्त गर्नुपर्नेमा जोड उनले दिए।
नेता नेपालले त्यसका लागि कम्युनिस्टहरूबिच सहकार्य गर्दै एकता गर्नुपर्नेमा जोड दिए। ‘मिल्ने कुरा मात्र ठुलो होइन, भावनामा मिल्नुपर्छ। विधि पद्धतिमा मिल्नुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्दा मेरो पनि दिमाग खराब भएको छ।’
नेता नेपालले मिल्ने कुरा मात्रै ठूलो नभई बलियो एकता हुनुपर्ने औँल्याए । ‘आज मिलेको छ, भोलि फुटेको छ, त्यस्तो नहोस्’, नेता नेपालले भने, ‘विधि र नीतिमाथि मन्थन गर्दै एकता हुनुपर्छ । यो आजको आवश्यकता रहेको छ।’
नेता नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताए। मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्तविक विशेषतालाई आत्मसात् गरेर अघि बढे कम्युनिस्टहरू एक ठाउँमा उभिनसक्ने बताए ।






प्रतिक्रिया