काठमाडौं-नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र देशभक्तहरू ढिला नगरी तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा जोड दिएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन्।
नेता प्रचण्डले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए। सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उनले बताए ।नेता प्रचण्डले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ। यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ। सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ।’

नेता प्रचण्डले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन्। भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको बताउँदै नेता प्रचण्डले भने, ‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन्।’
प्रचण्डले विगतका कमजोरीबारे आफू समीक्षा गर्न तयार रहेको भन्दै सबै नेता त्यसमा तयार भएर राष्ट्रका सामु आएको चुनौतीको सामना मिलेर मात्र गर्न सकिने बताए। ‘यसमा ढिला नगरौँ सबैले आ-आफ्नै ठाउँबाट वातावरण बनाउनुपर्छ’, प्रचण्डले भने।
आफूले आजै, अहिल्यै कम्युनिष्टहरुबीच एकताको कुरा नगरेको प्रचण्डले प्रष्ट पारे। सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिने उनको भनाइ थियो। उनले थपे, ‘मैले भोलि नै, आज बेलुकै पार्टी एकता गरौं भनेको छैन। सहकार्य गर्न सकिन्छ भने आजै गरौं भनेको हो । भरे सकिन्छ भने भरे गरौं । संसदमा, सडकमा, चुनावमा गरौं। सहकार्य गर्न जति ढिलो गर्यो त्यति भयानक दुर्घटना हुने वालाछ । सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ।’
उनले निरंकुशताविरूद्ध विगतमा मिलेरै सफलता प्राप्त गरिएको पनि स्मरण गरेका थिए।






प्रतिक्रिया