अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली नेपालका लागि उपयुक्त छैन: पूर्वराष्ट्रपति भण्डारी

प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली नेपालका लागि उपयुक्त छैन: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सामाजिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताएकी छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। 

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक प्रणालीको सफलताको आधार आवधिक निर्वाचन मात्र नभई संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वप्रतिको निरन्तर प्रतिबद्धता रहेको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधनका सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति असहमति जनाएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली सान्दर्भिक नहुने तर्क गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।’

उनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु महत्वपूर्ण भए पनि त्यति मात्र पर्याप्त नहुने बताइन्। जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले शासन प्रणालीको प्रभावकारिता र लोकतन्त्रको सफलताको आधार लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको दृढ प्रतिबद्धतामा निर्भर रहने उल्लेख गर्दै लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन्।

Skip This