काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै लगानीकर्ताको हितलाई केन्द्रमा राखेर निष्पक्ष र इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानी सुरक्षित गर्ने जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे। उनले पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिन बोर्डले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। म साथमा छु, सरकारले आवश्यक सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।
उनले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाभित्र र एक वर्षभित्र सम्पन्न गर्ने स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिए। बजारमा फैलाइने अनावश्यक हल्ला र अफवाहका कारण साना लगानीकर्तामा त्रास सिर्जना हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी नियमन आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले परिणाममुखी कार्यशैली अपनाउन सुझाव दिँदै भने, ‘धेरै बोलेर होइन, कामबाट प्रमाणित गर्नुहोस्। समयसीमा तोकेर सुधारका योजनाहरू कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्। मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सरकारको नीति तथा अर्थमन्त्रीको निर्देशनअनुसार पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण र आर्थिक वृद्धिमा योगदान पुग्ने गरी इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई बजारको पारदर्शिता, विश्वसनीयता र लगानीकर्ताको विश्वास अभिवृद्धिमा केन्द्रित गर्ने बताउँदै पुँजीबजार सुधारका लागि विगतमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।






प्रतिक्रिया