अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको हस्तक्षेपले एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा: अध्यक्ष ओली

सरकारको हस्तक्षेपले एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा पुगेको दाबी गरेका छन्।

एमालेनिकट नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एन्फालाई प्रतिबन्धको अवस्थाबाट बाहिर निकाल्न आवश्यक रहेको बताएका हुन्।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिए। उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरे। 

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याए। देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको सुधार केवल नेतृत्व परिवर्तनबाट सम्भव नहुने भन्दै संरचनागत परिवर्तन आवश्यक रहेको बताए। खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो। सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्टिय खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ। टुप्पोमा परिवर्तन गर्न खोजेर हुँदैन, यसलाई जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘तपाईंहरूको मनोबल कमजोर हुनु हुँदैन। एन्फा अहिले प्रतिबन्धको स्थितिमा पुगेको छ। त्यसलाई त्यस अवस्थाबाट उन्मुक्त गराउनुपर्छ। नेपाली खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय जगत्मा अन्य देशका खेलाडीसरह आफ्नो नाम चम्काउन सक्छन् र नेपालको प्रतिष्ठा बढाउन सक्छन्।’

अध्यक्ष ओलीले खेलाडीमा देशभक्तिको भावना अनिवार्य हुनुपर्ने धारणा राखे। देशप्रतिको समर्पण र गौरवबोधले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्ने उनको भनाइ थियो।

‘देशभक्ति नभएको खेलाडी खेलाडी हुँदैन। विश्वकपमा क्लबमा जस्तै अनुबन्ध गरेर खेल्न नपाइने कारण पनि यही हो। त्यहाँ आफ्नै देशका खेलाडीले प्रतिनिधित्व गर्नुपर्छ। देशको प्रतिष्ठाका लागि खेलाडीहरूले ज्यान फालेर खेलिरहेका हुन्छन्,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासका लागि अनुशासन, राष्ट्रप्रेम र संस्थागत सुधारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

Skip This