अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोडफोड र हिंसालाई वैधानिकता दिइयो, देश बर्बादीतिर गयो: अध्यक्ष ओली

तोडफोड र हिंसालाई वैधानिकता दिइयो, देश बर्बादीतिर गयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको आरोप लगाएका छन्।

मंगलबार एमालेनिकट नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बर्बादीको दिशातर्फ धकेलिएकाले खेलकुदसहितका विभिन्न क्षेत्रले अपेक्षित गति लिन नसकेको दाबी गरे।

अध्यक्ष ओलीले खेलाडी तथा नागरिकमा देशभक्तिको भावना अपरिहार्य रहेको उल्लेख गर्दै देशको समग्र विकासबिना कुनै एक क्षेत्र मात्रै अगाडि बढ्न नसक्ने बताए। अध्यक्ष ओलीले देशको प्रतिष्ठाका लागि खेलाडीहरूले समर्पणका साथ खेल्ने गरेको उल्लेख गर्दै हरेक नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारीबोध हुनुपर्ने धारणा राखे।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक चुनौतीका बीच देशलाई अगाडि बढाउने प्रयास गरेको स्मरण गराउँदै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सुधारका लागि काम गरिएको बताए। तर ती प्रयास केही शक्तिलाई स्वीकार्य नभएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले भने, ‘हामीले देशलाई अगाडि बढाउन खोज्यौँ। भुईंचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ। र विभिन्न क्षेत्रहरू शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास गर्‍यौं। तर त्यो कुरा सैह्य भएन।’

अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि असंवैधानिक गतिविधि, उपद्रव, तोडफोड, हिंसा, आगजनी र लुटपाटमार्फत सरकार ढाल्ने प्रयास भएको आरोप लगाए। यस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको भन्दै उनले त्यसले देशलाई कमजोर बनाएको टिप्पणी गरे।

अध्यक्ष ओलीले भने, ‘विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसावले, ढाल्न नसकेपछि असंवैधानिक हिसावले, उपद्रवको हिसावले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरुबाट सरकार ढाल्ने बाटो समातियो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने  व्यवस्था त्यस प्रणालीबाट फेरी अगाडि  बढ्नेछौँ।’

अध्यक्ष ओलीले आगामी दिनमा शान्तिपूर्ण, भयमुक्त र न्यायपूर्ण नेपाल निर्माणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरे। सबै नागरिकले न्याय पाउने, समान अवसर प्राप्त गर्ने र एकअर्काप्रति सद्भाव कायम हुने व्यवस्था स्थापित गर्न आफूहरू पुनः अग्रसर हुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले हरेक नेपालीमा देशभक्तिको भावना आवश्यक रहेको दोहोर्‍याउँदै राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

Skip This