काठमाडौं–नेकपा एमालेका नेता सूर्य थापाले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिहरूबीच कार्यगत एकता कायम गरी संयुक्त संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले देशमा देखिएको राजनीतिक अवस्थालाई आफूले ‘वितण्डा’को संज्ञा दिँदै त्यसको सामना गर्न समान सोच भएका सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका हुन्।
नेता थापाले भनेका छन्, ‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ।’
नेता थापाले लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय हित तथा जनताको अधिकारको संरक्षणका लागि साझा एजेन्डामा आधारित सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्। लोकतन्त्रलाई थप सुदृढ र संस्थागत बनाउन लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको उनको भनाइ छ।
‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको छ। लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरुरी रहेको छ’ नेता थापाले भनेका छन्।
नेता थापाले वर्तमान चुनौतीहरूको सामना गर्न राजनीतिक दलहरू विभाजित भएर होइन, साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय स्वाधीनता तथा जनताको हितको रक्षाका लागि व्यापक राजनीतिक सहकार्य र संयुक्त संघर्षको विकल्प नरहेको पनि उनले उल्लेख गरेका छन्।






प्रतिक्रिया