काठमाडौं-प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले असार २१ गते आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता दाहालले सरकार सुशासन र विकासको एजेण्डाभन्दा संविधान र लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने उद्देश्यमा केन्द्रित रहेको दाबी गरे।
संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि महिला, दलित, आदिवासी तथा जनजाति समुदायले प्राप्त गरेका अधिकारसमेत खोस्ने प्रयास भइरहेको आरोप लगाए। उनले संविधान र गणतान्त्रिक व्यवस्थाको रक्षा गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
‘यो सरकार सुशासन र विकासका लागि होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी र जनजातिले प्राप्त गरेका अधिकार खोस्ने र संविधान मास्ने दिशातर्फ अघि बढिरहेको छ,’ संयोजक दाहालले भने, ‘खबरदार, अब हामी सबै एकपटक जुर्मुराउनुपर्ने अवस्था आएको छ।’
उनले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि हुन सक्ने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध जनस्तरबाट सचेत र संगठित प्रतिरोध आवश्यक रहेको समेत बताए।
संयोजक दाहालले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरू भएकाले आफूले संसदमा पनि धेरै विषयहरू बोल्ने पनि बताए ।






प्रतिक्रिया