काठमाडौँ-नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने बताएकी छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएकी हुन्।
निर्वाचन आयोग तटस्थ भएर काम गर्ने राजनीतिक प्रकृतिको संस्था भएकाले नियुक्ति प्रक्रियालाई अझ पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्ने उनको भनाइ छ। वर्तमान सरकारले पनि पुरानै अभ्यासलाई निरन्तरता दिएको उल्लेख गर्दै उनले सुनुवाइ प्रक्रियालाई हतार नगरी सबै पक्षसँग पर्याप्त छलफल गरेर सहमतिमा नै अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
बैठकमा बोल्दै उपनेता अर्यालले भनिन्, ‘अहिले जुन खालको वातावरण छ, यसमा खुला प्रतिस्पर्धा नै राम्रो हो। निर्वाचन आयोग हेर्दा तटस्थ तर काम गर्ने राजनीतिक संस्था हो। त्यसैले यस्ता संस्थामा एकदम खुला प्रतिस्पर्धाको व्यवस्था गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो तर हामीले पुरानै अभ्यासलाई समातेर अगाडि बढिरहेका छौँ। अब संसदीय सुनुवाइलाई औपचारिकता मात्रै नबनाउने र साँच्चै राम्रो बनाउने हो भने अलि फराकिलो ढंगले छलफल गरौँ। त्यो खालको वातावरण बनाएर योग्य भन्दा योग्य व्यक्ति आओस् भन्ने नै हाम्रो चाहना हो।’






प्रतिक्रिया