काठमाडौं-काठमाडौंका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि प्रहरीले अनुसन्धान थालेको छ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटबाहिर गाडी पार्किङ गरिएको पाइएको छ। यसका कारण सञ्चारकर्मीको आवतजावत प्रभावित भएको बताइएको छ।
कान्तिपुर पब्लिकेशनको गेटअगाडि राखिएको गाडीलाई प्रहरीले क्रेन प्रयोग गरी हटाएको छ। यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि बिहानदेखि राखिएको अर्को गाडीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनका धनीको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीको भनाइ छ।
यसैबीच, नेपाल पत्रकार महासंघले सञ्चारगृहको गेटमै गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। महासंघले तत्काल अवरोध हटाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।














प्रतिक्रिया