ललितपुर– अविरल वर्षापछि ललितपुरको महालक्ष्मीस्थानमा सडक भासिँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
सोमबार महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सडकको एक भाग भासिएपछि सडकसँगै रहेका फर्निचर, क्याफे र किराना पसल जोखिममा परेका छन्। सडकसँग जोडिएको भित्ता कमजोर भएकाले सडक भासिएसँगै भित्ता र ठूलो परिमाणमा माटो फर्निचरतर्फ खसेको थियो।
घटनाका बेला फर्निचरभित्र ६ जना रहेका थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू तत्काल बाहिर निस्किएकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
फर्निचर सञ्चालकका अनुसार फर्निचरमा जडान गरिएका चारवटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेका कारण थप क्षति हुन पाएन। सडक भासिँदा परेको अत्यधिक दबाबका कारण तीमध्ये केही फलामका संरचना बाङ्गिएका छन्।
घटनापछि उक्त क्षेत्रमा थप जोखिमको सम्भावना रहेकाले स्थानीयवासीले तत्काल सडक मर्मत, भित्ता सुदृढीकरण तथा आवश्यक सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।






प्रतिक्रिया