काठमाडौं-काठमाडौंको कीर्तिपुरस्थित ट्याङलाफाँटमा पार्किङ गरेर राखिएको कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको शव पोष्टमार्टमका लागि पठाइएको छ।
कीर्तिपुरको ट्याङ्लाफाँट स्थित चाँदनी चोकमा मंगलबार बिहान ११ बजेर २० मिनेटमा अचानक कारमा आगलागी भएको हो।
प्रहरीले कारभित्र फेला परेको शव निकालेर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आगलागी भएको बा.५ च ३०३८ नम्बरको कार नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको छ। कारधनीको पहिचान भए पनि कारभित्र रहेका व्यक्ति चालक तथा धनी नै हुन् वा होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारमा आगलागी कसरी भयो र मृतकको वास्तविक पहिचान के हो भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको छ।






प्रतिक्रिया