अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने

एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने


काठमाडौं-नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक आज सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठक उपसमितिका संयोजक अग्नि प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा संयोजक खरेलसहित सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापाको उपस्थिति रहेको थियो। साथै पूर्व कानुनमन्त्री माधव प्रसाद पौडेल विज्ञका रूपमा विशेष रूपमा सहभागी भएका थिए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ बनाउन संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने उद्देश्यले आयोजित बैठकमा संविधान कार्यान्वयनको अनुभव, चुनौती तथा संशोधनका सम्भावित क्षेत्रबारे विस्तृत छलफल भएको सदस्य–सचिव महेश बर्तौलाले जानकारी दिएका छन्।

बैठकमा नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, त्यसबाट प्राप्त उपलब्धि तथा व्यवहारमा देखिएका चुनौतीहरूको समीक्षा गरिएको थियो। त्यसैगरी संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा पनि छलफल भएको छ।

यस्तै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे पनि बैठकमा विचार–विमर्श गरिएको थियो।

बैठकले संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्ने विषयमा समेत छलफल गरेको जनाएको छ।

एमालेले संविधान संशोधन सम्बन्धी सुझाव संकलनलाई व्यवस्थित र सहभागितामूलक बनाउँदै आगामी दिनमा विभिन्न सरोकारवालासँग परामर्शलाई तीव्रता दिने तयारी गरेको जनाएको छ।

छलफलका मुख्य विषयहरु

१. नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा छलफल भयो।
२. संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भयो।
३. राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र , नागरिक समाज तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया सम्बन्धमा छलफल भयो।
४. संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा छलफल भयो।

Skip This