काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन्।
नेपालका वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा दुवै नेताले अतुलनीय योगदान पुर्याएको बताएका हुन्।
अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गरे। पुष्पलालले राजनीतिक आन्दोलनलाई मजदुर, किसान तथा आम जनताको जीवनसँग जोड्ने काम गरेको उल्लेख गर्दै शहीद गङ्गालाल श्रेष्ठबाट प्राप्त प्रेरणाले उनले जीवनभर परिवर्तनका लागि सङ्घर्ष गरेको ओलीले बताए।
त्यसैगरी, बीपी कोइरालालाई बहुआयामिक तथा नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै ओलीले दुवै नेताले आ–आफ्नो विचारधारा र भूमिकामार्फत मुलुकको रूपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको उल्लेख गरे। अध्यक्ष ओलीले उनीहरूका आदर्श र कार्यबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीका अनुसार तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू एक हुनुपर्ने पुष्पलालको नीति सुरुमा स्वीकार नभए पनि अन्ततः २०४६ सालको जनआन्दोलनको सफलताको आधार त्यही सहकार्य बनेको थियो।
‘अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घदृष्टि, दूरदर्शिता र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ,’ अध्यक्ष ओलीले भने, ‘बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन्।’






प्रतिक्रिया