अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यक: केपी ओली

लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यक: केपी ओली


काठमाडौं- कपा (एमाले)का अध्यक्ष तता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहृत’ अवस्थामा पुगेको दाबी गर्दै यसको सुदृढीकरणभन्दा पनि पुनःस्थापना आवश्यक रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेश कमिटीद्वारा आयोजित ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले लोकतन्त्रको मापन केवल निर्वाचनबाट मात्र नहुने उल्लेख गर्दै चुनाव कुन अवस्था, उद्देश्य र वातावरणमा सम्पन्न भयो भन्ने पक्ष महत्वपूर्ण हुने बताए। ‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र अपहरित भएको छ। आज लोकतन्त्रको पुनः सुदृढीकरण होइन, फिर्ता लिनुपर्ने अवस्था आएको छ,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले चुनाव हुनु मात्र लोकतन्त्रको अभ्यास भए पनि त्यसको स्वरूप र उद्देश्यले लोकतन्त्रको वास्तविक अवस्था निर्धारण गर्ने बताए। उनले विश्वका धेरै देशमा निर्वाचन भए पनि लोकतन्त्र नहुने उदाहरण रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका जनधनको क्षति, हिंसा र आतंकका घटनालाई नेपालको इतिहासमै कल्पना गर्न नसकिने प्रकृतिको भन्दै आलोचना गरे। राणाशासन, पञ्चायती व्यवस्था वा २०६२/०६३ को जनआन्दोलनका समयमा समेत त्यस्तो प्रकारको भय र आतंकको वातावरण नदेखिएको उनको भनाइ थियो।

पुष्पलाल स्मृति दिवसको कार्यक्रममा ओलीले संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्न संविधान निर्माणमा भूमिका खेलेका प्रमुख दलहरूले थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।

Skip This