काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, जनअधिकार र लोकतन्त्रको रक्षा गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि आक्रमण भइरहेको दाबी गरे। त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
‘नेपालका गरिब, मजदुर, किसान र उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ। त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ। सदनमा पनि लड्ने, सडकमा पनि लड्ने र आगामी निर्वाचनमा पनि लड्ने,’ उनले भने।
प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक उपलब्धिहरू जोगाउन साझा न्यूनतम कार्यक्रम निर्माण गरी आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।
उनले ‘जेनजी आन्दोलन’लाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यसको प्रयास पूर्ण रूपमा सफल हुन नसकेको टिप्पणी गरे। वर्तमान परिस्थितिमा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच अझ व्यापक एकता आवश्यक रहेको उनको भनाइ थियो।
प्रचण्डले भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाइएको विषयलाई पनि सामान्य घटनाका रूपमा लिन नहुने उल्लेख गर्दै त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।






प्रतिक्रिया