अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान


सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार सूचना जारी गर्दै नेपालको संविधानको धारा १६८(२) बमोजिम प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६९ (१) (क) अनुसार २०८३ साउन ९ गते साँझ पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुखले उहाँको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

राजीनामा स्वीकृत भएसँगै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढेको हो।

यसअघि शनिबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकार परिवर्तनको राजनीतिक सहमतिअनुसार आफूले पद त्याग गर्ने घोषणा गरेका थिए। उनको राजीनामासँगै कर्णालीमा सत्ता समीकरण परिवर्तन हुने औपचारिक प्रक्रिया सुरु भएको हो।

यस परिवर्तनको पृष्ठभूमिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा भएको तीनबुँदे राजनीतिक सहमति रहेको छ। शनिबार भएको उक्त सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।

यस सहमतिसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र भएको छ। अब प्रदेशसभामा बहुमतको समर्थन जुटाउन सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अगाडि बढ्नेछ।

Skip This