काठमाडौं-नेपाल पत्रकार महासंघले समाचार चित्त नबुझेको भन्दै विभिन्न जिल्लामा कार्यरत पत्रकारमाथि धम्की, गालीगलौज तथा अपमानजनक व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार, २०८३ साउन १० गते अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित ‘कालोकोट लगाएर ठगी धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षकको समाचारलाई लिएर अधिवक्ता अनिलबहादुर शाही र उनका आफन्तले सो दैनिकका संवाददाता तथा महासंघ कर्णाली प्रदेश समितिका सचिव विस्नप्रसाद न्यौपानेमाथि अपमानजनक भाषा प्रयोग गर्दै निराधार आरोपसहित गालीगलौज गरेका छन्। उक्त जानकारी महासंघको कालिकोट शाखाले दिएको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, सोही दिन महासंघ कास्की शाखाका सदस्य पत्रकार सुमन ढंगानालाई सेती रिभर साइड रिसोर्ट सम्बन्धी समाचार प्रकाशित भएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका-३३ वडा समितिका सभापति दिनेश आचार्यले पटक-पटक सन्देशमार्फत धम्की दिएको महासंघ कास्की शाखाले जनाएको छ।
नेपाल पत्रकार महासंघले समाचारप्रति असहमति वा असन्तुष्टि भए त्यसको समाधान कानुनी प्रक्रिया वा प्रचलित विधिबाट खोजिनुपर्नेमा जोड दिएको छ। समाचार चित्त नबुझेको भन्दै पत्रकारमाथि धम्की, अपमान र गालीगलौज गर्नु प्रेस स्वतन्त्रताविरोधी तथा निन्दनीय कार्य भएको महासंघको ठहर छ।
महासंघले दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारहरूले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकार निर्भीक र निर्वाध रूपमा प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न पनि सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।







प्रतिक्रिया