काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्।
गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारमा सत्ता भागबन्डासम्बन्धी तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिप्रति सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएको चर्चा भइरहेका बेला प्रवक्ता ज्वालाले पार्टीभित्र कुनै मतभेद नरहेको स्पष्ट पारेका हुन्।
उनका अनुसार सोमबार प्रचण्डले कोटेश्वरस्थित निवासमा माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। भेटमा तीन बुँदे सहमति कार्यान्वयन, प्रदेश सरकारको सत्ता समीकरण तथा समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा भएको थियो।
ज्वालाले प्रदेशमा सत्ता समीकरण निर्माणका लागि दुई दलबीच संयन्त्र गठन गरेर अघि बढ्ने समझदारी भएको जानकारी दिए। साथै राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलसँग आपसी छलफल र सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको उनले बताए।
‘तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन। सहमति कार्यान्वयन, प्रदेशमा सत्ता समीकरण बनाउन दुई दलबिच संयन्त्र बनाएर अगाडि बढ्ने उहाँहरूबिच गम्भीर समीक्षा भएको छ’, उनले भने, ‘सबै राजनीतिक दलहरूसँग आपसी छलफल गरेर राष्ट्रिय मुद्दामा सहकार्य गर्ने विषयमा पनि कुराकानी भयो। एकता र समायोजन प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने कुरा भएको छ ।’
उनले पार्टी एकता तथा समायोजन प्रक्रियाका बाँकी कामहरू शीघ्र सम्पन्न गर्ने विषयमा समेत दुई नेताबीच सहमति भएको उल्लेख गरे।






प्रतिक्रिया