अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय ई-सिम तथा आईडीपी सेवा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय ई-सिम तथा आईडीपी सेवा उपलब्ध


काठमाडौं-कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।

सम्झौताअनुसार कुराकानी अनलाइनको अन्तर्राष्ट्रिय डेटा ई-सिम (eSIM) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (International Driving Permit–IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ। अब बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा ई-सिम डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकका लागि यो सेवा विशेष रूपमा उपयोगी हुनेछ।

ई-सिम सेवामार्फत ग्राहकहरूले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्नुपर्ने वा सिम परिवर्तन गर्नुपर्ने झन्झटबाट मुक्त हुँदै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्नेछन्। त्यस्तै, आईडीपी सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

यस सेवाको अर्को विशेषता भनेको ई-सिम तथा आईडीपी सेवाको शुल्क कुमारी बैंक मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने सुविधा हो। यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रियालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिँदै आएको छ। बैंकले प्रविधिमा आधारित आधुनिक सेवामार्फत ग्राहकको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

बैंकले यस सहकार्यबाट ग्रामीण, अर्ध–शहरी तथा शहरी क्षेत्रका ग्राहकलाई समान रूपमा अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवामा पहुँच विस्तार हुने तथा डिजिटल समावेशीकरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। साथै, विदेश यात्रा, अध्ययन, रोजगारी तथा व्यवसायिक प्रयोजनका लागि आवश्यक सेवाहरू एकीकृत डिजिटल माध्यमबाट उपलब्ध गराउँदै ग्राहक अनुभवलाई थप उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ।